‘भूमि विधेयक’बारे अध्ययन गर्न सांसदलाई थप २ दिनको समय

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal_KTM_RSS_25__DG_7752(1).jpeg

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भइरहेको ‘भूमि विधेयक’का केही दफा अस्पष्ट भएको भन्दै सांसदहरूले थप अध्ययनका लागि दुई दिनको समय मागेका छन् । समितिकी सभापति कुसुमदेवी थापाका अनुसार, अब यस विषयमा साउन २७ गते छलफल हुनेछ ।

विधेयकमा दफा १२ (छ) को स्थानमा संशोधित बुँदा आज बिहान मात्र प्राप्त भएको र त्यसको भाषा प्रष्ट नभएको सांसदहरूको भनाइ छ । उनीहरूले हतारमा निर्णय गर्दा निजामती विधेयकमा जस्तै समस्या आउन सक्ने भन्दै मिहिन अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आरक्ष र राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका पीडितहरूलाई जग्गा दिने गरी कानुन बनाउनुपर्ने बताए ।

विशेषगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापित भएका धेरै परिवारले जग्गा नपाएको गुनासो आएको उनले जानकारी दिए ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि यस समस्यालाई विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

सांसदहरू वीरबहादुर बलायर, भानुभक्त जोशी, अशोककुमार चौधरीलगायतले संशोधित बुँदामा घुमाउरो भाषा प्रयोग भएको भन्दै त्यसलाई प्रष्ट पार्न माग गरेका छन् ।


Facebook Comments