सडक स्तरोन्नति नभएपछि सडकमै केराको बोट रोपेर स्थानीयले गरे विरोध


भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् ।
बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्गेतिक विरोध गरेका हुन् ।
चाँगुनारायण नगरपालिका–९ अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत अधुरो रहेकाले थप जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।
अध्यक्ष सुरेशराज गिरीले रामसीता मन्दिरसँगैको सडकमै समूहले हस्ताक्षरसहित ‘ब्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई जानकारी गराइएको बताए । उनले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर साङ्गेतिक विरोध गरेको बताए ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक जगाति साँगा धुलिखेल सडक छ लेनमा विस्तार भइरहेकाले ‘च्यामासिंह–ताथली–नाला’ सडकमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको अध्यक्ष गिरीले बताए । “ताथलीको भञ्याङमा सडक नै खस्न लागेर जोखिमपूर्ण अवस्था छ ।
रामसीता मन्दिरसँगैको अधुरो सडक जीर्ण भएर दैनिक जाम र दुर्घटनाको जोखिम बढेको छ, तर व्यवस्थापनमा ध्यान दिइएको छैन । यसलृ ब्रम्हायानी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएको छौँ”, उनले भने । तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामाङ्करण गरिएको छ ।
Facebook Comments