साउनको अन्तिम सोमबार: पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pashupatinath1.jpg

काठमाडौं । पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । 

बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले  जानकारी दिए । अन्य विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।  साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । यस वर्षको साउनको पहिलो सोमबारदेखि चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ । 

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् ।

पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।


Facebook Comments