Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

User Image मेयरसाप डेस्क | २०८२ साउन २४ गते १०:२५
Image of https://mayorsap.com/storage/photos/10/Beni-hospital.jpg

म्याग्दी । म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई  चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो । 

अस्पतालका प्रमुख चिकित्सक डा.रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिए। “यसअघि बिहान १० देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,” उनले भने “सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिस गर्न पाएका छन् ।”

थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतिक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा.प्रधानले बताए । उनीहरु हाल डाइलाइसिसका लागि बागलुङ, कुश्मा र पोखरा जाने गरेका छन् । डाइलाइसिसका लागि पालो कुरेर बस्ने मिर्गौला रोगसम्बन्धी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको अस्पतालका प्रमुख डा.प्रधानले बताए । 

विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा सञ्चालन भएको थियो । अस्पतालमा पाँच ‘डाइलाइसिस मेसिन’ छन् । बेनी अस्पतालले डाइलाइसिस सेवा अवधि थप गरेपछि डाइलाइसिसका लागि पोखरा, बागलुङ र कुश्माको अस्पतालमा जाँदा हुने समय र खर्चको बचत भएको छ । मिर्गौलाका बिरामीले हप्तामा कम्तीमा दुईदेखि बढीमा चार पटक डाइलाइसिस गर्नुपर्छ । 

निजी अस्पतालमा एकपटक डाइलाइसिस गराउँदा यातायात, खानाबस्नसहित गरी एक पटकमा रु आठ हजार भन्दाबढी खर्च हुन्छ । गण्डकी प्रदेशमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रुपमासमेत चिनिन्छ । अस्पतालको सम्पर्कमा करिब ४० मिर्गौलाका बिरामी छन् ।


Facebook Comments