डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सम्पन्न


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७, डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजना अन्तर्गत पूर्वाधारको काम सकिएपछि अहिले उपकरण जडानको काम सुरु भएको छ ।
आयोजना प्रमुख रोशन अग्रवालका अनुसार, ५१ रोपनी क्षेत्रफलमा फैलिएको डाँडाखेत सवस्टेशनमा १३३\३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
यस सवस्टेशनको मुख्य उद्देश्य म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई केन्द्रीय ग्रीडमा जोड्नु हो ।
डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिकाको राहुघाट जोड्ने २५ किलोमिटर लामो प्रसारणलाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ मा ३ अर्ब ५७ करोड रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको समग्र भौतिक प्रगति ७९.१७ प्रतिशत पुगेको छ । ठेक्काको म्याद आगामी कात्तिक २९ गतेसम्म थप गरिएको छ ।
यसैगरी, राहुघाटमा पनि सवस्टेशन निर्माणको काम जारी छ । त्यसका लागि ९० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । अहिले यहाँ उपकरण राख्ने र कार्यालय भवन बनाउन फाउन्डेसनको काम सकिएको छ ।
यो आयोजनाका लागि कुल लागत अनुमान ४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यसमा १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको लगानी छ ।
Facebook Comments