उच्च अदालतका नवनियुक्त २७ जना न्यायाधीशले लिए शपथ

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1000302802 (1).jpg

काठमाडौं । न्याय परिषद्को सिफारिसमा उच्च अदालतका लागि नियुक्त भएका २७ जना न्यायाधीशले आज शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

न्याय परिषद्ले गत साउन २२ गतेको बैठकबाट यी न्यायाधीशहरूलाई नियुक्त गरी पदस्थापन गरेको थियो ।

शपथ ग्रहण गर्ने न्यायाधीशहरूमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर सुर्खेतका लागि, धादिङ जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोला पाटनका लागि र ओखलढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतम दीपायल, महेन्द्रनगर इजलासका लागि नियुक्त भएका छन् ।

यस्तै, गुल्मीका जिल्ला न्यायाधीश युवराज गौतम विराटनगर, दाङका जिल्ला न्यायाधीश तेजनारायण पौडेल तुलसीपुर, पर्वतका जिल्ला न्यायाधीश प्रकाश ढुङ्गाना पाटन, उदयपुरका जिल्ला न्यायाधीश दीपककुमार खरेल पाटन, गोरखाका जिल्ला न्यायाधीश शिवबहादुर रानाभाट पाटन, काठमाडौंका जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेल जनकपुर, भक्तपुरका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने पाटन, पाल्पाका जिल्ला न्यायाधीश दलबहादुर केसी तुलसीपुर र चितवनका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवाली पाटनमा नियुक्त भएका छन् ।

अन्य न्यायाधीशहरूमा मोरङका जिल्ला न्यायाधीश उदयप्रसाद भट्टराई विराटनगर, मकवानपुरका जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराई पाटन, उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारी दीपायल, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शङ्कर खत्री जनकपुर, सर्वोच्च अदालतका रजिष्ट्रार अच्युत कुइँकेल पाटन र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री सुर्खेतमा नियुक्त भएका छन् ।

कानुन व्यवसायीबाट नियुक्त हुनेहरूमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियार रहेका छन् ।


Facebook Comments