स्वकीयले ‘नाइट क्लब’मा जवानी पोख्दा मन्त्री भण्डारीको छविमाथि प्रश्न

User Image राहुल कुमार ढकाल | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhandarivsbhandari.jpg

काठमाडौं । गत साउन २४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकबहादुर भण्डारीले राजधानीको एउटा ‘नाइट क्लब’मा युवतीलाई काखमा बोकेर उचाल्दै नाचेको भिडिओ सार्वजनिक भयो ।

भिडिओ सार्वजनिक भएपछि मन्त्री भण्डारीलाई जोडेर सामाजिक सञ्जालमा चर्को आलोचना भयो । मन्त्री भण्डारीका विश्वास पात्र मानिने लोकबहादुरले नाइट क्लबमा गरेको हर्कत सामाजिक सञ्जालमा छताछुल्ल भएपछि मन्त्री भण्डारीको छविमा प्रश्न उठेको छ ।

लोकबहादुरले नाइट क्लबमा युवतीसँग मदिराको तालमा रोमान्स गरेको भिडिओले मन्त्री भण्डारीलाई दिनमा भोक र रातमा निन्द्रा समेत लाग्न छाड्यो । युवतीसँग रोमान्स गरेको भिडिओ देखेर बिरक्तिएका मन्त्री भण्डारीले लोकबहादुरलाई स्वकीय सचिवबाटै हटाए । मन्त्रालयले साउन २६ गतेदेखि लागू हुने गरी लोकबहादुरलाई मन्त्रीको स्वकीय सचिवबाट पदमुक्त गरेको सूचना निकाल्यो । 

मन्त्रालयले निकालेको सूचनामा लेखिएको छ, ‘माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकाले तपाईँलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराइन्छ ।’ 

लोकबहादुरले राजधानीको नाइट क्लबमा आफ्नो जवानी पोख्दा मन्त्री भण्डारीको छविमाथि प्रश्न मात्रै उठेको छैन । स्वकीय सचिव भएकाले मन्त्रीलाई जनताप्रति उत्तरदायी बनाउन मद्दत गर्नुपर्ने लोकबहादुरले मध्य राति युवतीसँग मस्ती गर्दै हिँडेपछि आफू मात्रै होइन, मन्त्री भण्डारीलाई समेत सार्वजनिक स्थलमा जान मुख छोप्न पर्ने अवस्था बनाइदिएका छन् । लोकबहादुर नाम जस्तै काम पनि लोकप्रिय गर्नुपर्ने तर यिनी विवादका पर्याय जस्तै हुन् ।  २०७४ सालमा नेकपा एमालेबाट बैतडीको पाटन नगरपालिका– ९ मा वडाध्यक्षमा निर्वाचित हुँदा बजेट निर्माणमा दुरुपयोग गरेको विवादमा तानिएका थिए । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई ८५ भोटको मतान्तरले पराजित गर्दै उनी वडाध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनले पाटन नगरपालिकाको प्रवक्ताको समेत जिम्मेवारी पाएका थिए । नगर प्रवक्ता हुँदादेखि नगरपालिकामा आफ्नो वर्चस्व कायम राखेका उनले कार्यपालिकामा मेयर–उपमेयर नेपाली कांग्रेसका भए पनि बहुमत एमालेको भएकाले बजेट निर्माण तथा योजना छनौटमा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो ।

२०७९ सालको चुनावमा पनि एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका लोकबहादुर माओवादी–कांग्रेसको गठबन्धनसँग पराजित भएका थिए । टिकट वितरणमा यिनै लोकबहादुरको मिलेमतो भएर विवाद भएपछि एमालेका अर्का उम्मेदवारका प्रत्याशी प्रेम सिंह भाटले भने पार्टी नै छाड्नु परेको थियो ।

लोकबहादुरको पार्टीमा पनि बलियो पकड रहेको सुनिन्छ । उनी प्रधानमन्त्री केपी शर्मा ओली सरकारका उद्योग मन्त्री दामोदर भण्डारीका निकै नजिकका विश्वास पात्र मानिन्छन् । लोकबहादुर विगत लामो समयदेखि मन्त्री भण्डारीकै आडमा पार्टीमा आफ्नो वर्चस्व कायम राख्दै पार्टीको विभिन्न भातृ संघसंगठनमा जिम्मेवारीपूर्ण भूमिकामा रहेर काम गर्दै आइरहेको बताइन्छ ।


Facebook Comments