माथिल्लो तामाकोशी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/upper_tamakoshi.jpg

दोलखा । दोलखाको बिगुु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् नदीमा यही साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलासय सफाइ गरिने भएको छ ।

माथिल्लो तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलासय सफा गरिने भएकाले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन र सो दिन दिनभर पानीको सतह घटबढ हुने भएकाले केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो ।

जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले वर्खाको समयमा बाढीका कारण जलासयमा बालुवा, गिट्टी थुप्रिएकाले सफा गर्न लागिएको बताए । सरसफाइ अवधिभर तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न र नगराउन जलविद्युत् केन्द्रले आग्रह गरेको छ ।

केन्द्रले लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो । साथै, नदी किनारमा परम्परा अनुसार दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक सावधानीका साथ गर्न गराउन आग्रह गरिएको छ । जलासय सफा गर्ने दिन दिनभर विद्युत् उत्पादन बन्द हुने केन्द्रले जनाएको छ । 


Facebook Comments