आठ देशका सांसदहरू काठमाडौंमा भेला हुँदै

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB-KTM-30_U3A9226copy.jpg

काठमाडौं । ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने आठ देशका सांसदहरूको संसदीय बैठक आगामी भदौ २ र ३ गते काठमाडौंमा हुने भएको छ ।

जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा साझा धारणा बनाउन तथा त्यसको असर न्यूनीकरण गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको हो ।

सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुने यस बैठकमा नेपालसहित भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुन लागेको यो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे पनि सहभागी हुनेछन् ।

आयोजक समितिका संयोजक वीरबहादुर बलायरका अनुसार, हिन्दुकुश क्षेत्रमा परेको जलवायु परिवर्तनको गम्भीर असरबारे गहन छलफल हुनेछ ।

समितिकी सभापति कुसुमदेवी थापाले यस बैठकले नीति निर्माण र दिगो विकासका लागि ज्ञान र सीप आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

यो बैठकले पर्वतीय मुद्दाहरूलाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चमा प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Facebook Comments