सिन्धुलीको दुधौलीमा बाढी पस्दा १० घर डुबानमा, एकजना घाइते

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/duban.jpg
फाइल तस्बिर

सिन्धुली । दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन् । 

आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो । अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते भएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

डुबानले दनुवारको घर, गाईगोठ, ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, सङ्गीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एक तले घरमा बाढी पसेको उनले बताए।

बस्तीमा बाढी पसे पनि मानवीय क्षति भने नभएको र पीडितहरूका लागि  अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले  बताए । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा सञ्चालन हुने सवारीसाधनलाई भदौ १ गते देखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा पुनः रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासनले गत साउन १ गतेदेखि रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाउँदै आएको छ । 


Facebook Comments