खोटाङमा डेंगु र स्क्रबटाइफस सङ्क्रमण बढ्दै


खोटाङ । खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।
डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं ‘रिफर’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा डेङ्गु तथा स्क्रबटाइफसको सङ्क्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जोखिम बढेको प्रमुख चौलागाईंले बताए । जिल्लाका छ/छ महिला/पुरुषमा डेङ्गु तथा नौ पुरुष र पाँच महिलामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।
डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमण देखिएका कतिपय बिरामी उपचारपछि घर फर्किएका छन् भने कतिपय उपचाररत रहेको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए । “यो समयमा बर्सेनि डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमित आउने गरेका छन् । जिल्ला अस्पतालमा जटिल किसिमका बिरामीको उपचार गर्ने व्यवस्था छैन ।
यो सङ्क्रमणले रगत उत्पादन गर्ने ग्रन्थी ‘प्लेटलेट’मा असर गर्छ”, उनले भने, “डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमित मात्र नभई अन्य बिरामीको सङ्ख्या पनि यहाा वृद्धि भइरहेको छ । दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा उपचारमा समस्या भएको छ ।”
जिल्लामा डेङ्गु तथा स्क्रबटाइफसको सङ्क्रमण बढ्दै गएपछि लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालयले आज दिक्तेलमा आयोजना गरेको सर्वपक्षीय भेलाले जिल्लाका दशवटै स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिकस्थललगायतमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
डेङ्गु लामखुट्टेबाट सर्ने रोग भएकाले त्यसबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्री) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनाका साथै छालामा डाबर आउनुजस्ता लक्षण देखिन्छ ।
डेङ्गु रोगको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफैँ सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।
स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा र शरीर दुख्नेजस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने जनाइएको छ । माइट (कीरो)को टोकाइबाट सर्ने यो रोगको उपचारमा ढिला भए जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
Facebook Comments