दुर्गा प्रसाईंको आरोप–नयाँ शक्तिसँग राज्यसत्ता डराउँछ, मलाई इन्काउन्टर गर्ने आदेश रहेछ

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durga parsai2.PNG

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ शक्तिसँग राज्यसत्ता डराएको आरोप लगाएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै प्रसाईँले नयाँ शक्तिसँग राज्यसत्ता डराएर आत्तिने गरेको बताएका हुन् ।

राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत बताए। उनले भने, ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो । चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो । म तयारीसाथ गएको थिएँ । तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो । मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो । अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो । राज्यसत्ता हामीसँग डरायो । जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ । धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।’

प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाए।

प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा पनि गरेका छन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको बताएका छन् ।

उनले भने, ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं ।’ 


Facebook Comments