२५ वर्षपछि वीपी कोइराला क्यान्सर अस्पतालको २९ वटा भवनको नक्सापास

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bharatpur-mahanagar1_KOoCLFlvk7.jpg

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । 

विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो । 

अस्पतलका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो । नक्सा बनाउन रु २२ लाख हाराहारी खर्च भएको छ । अभिलेखीकरणका लागि महानगरपालिकामा रु एक करोड ७८ लाख राजस्व बुझाएको उनले बताए। 

यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो । बोनम्यारो प्रत्यारोपणका लागिसमेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दैछ । 

दीर्घकालिन प्रभावका महत्वपूर्ण काम भइरहेको उनले बताए। भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्वपूर्ण कामअघि बढेको उनको भनाइ छ । जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्रै महानगरमा अभिलेखीकरण भएका छन् । धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन् । 


Facebook Comments