सौर्य जहाज दुर्घटनाका पीडितलाई गृहमन्त्रीको आश्वासन– फेरि जाँच गराउन पहल गर्छु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prakash-khatiwada-meet-home-minsiter.jpg

काठमाडौं । सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज उनलाई भेट गरी न्यायिक जाँचका लागि आयोग गठन गर्न माग गरेको हो ।

गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताए । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकाले न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने पत्रमा भनिएको छ ।

गृहमन्त्री लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको खतिवडाले जानकारी दिए । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ०८१ साउन ९ गते सौर्य जहाज दुर्घटना हुँदा खतिवडाका तीन सन्ततिसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।  


Facebook Comments