ट्रम्प–जेलेन्स्की भेटवार्ताः युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, युद्धविराम तत्काल नहुने


वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् । सोमबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले रूस–युक्रेन युद्धबारेमा जेलेन्स्कीसहितका नेतासँग बैठक गरेका हुन् । यसअघिको भेटमा राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएको थियो । यो पटकको भेटमा भने सौहार्दता रुपमा छलफल भएको छ ।
भेटवार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका फ्रिडरिख मर्ज र नाटो महासचिव मार्क रुट् लगायतका नेताहरूसँग ह्वाइट हाउसमा अत्यन्तै राम्रो बैठक भएको बताएका छन्। बैठकमा युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो। ट्रम्पले अमेरिका र युरोपेली देशहरूसँग मिलेर यसबारे काम गर्ने बताए । यद्यपि तत्काल युद्धविराम सम्भव नभएको उनले बताए ।
राष्ट्रपति ट्रम्पले आजको बैठकको नतिजा जे भए पनि युक्रेनका लागि अमेरिकी समर्थन कायम रहने बताए । उनले नाटोको सदस्य नबने पनि अमेरिकाले युक्रेनलाई बलियो सुरक्षा दिने बताए । उनले भने, ‘आवश्यकता परे युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सेना पठाउन सकिन्छ, युद्ध अवश्य अन्त्य हुन्छ, तर कहिले भन्ने कुरा अहिले निश्चित छैन।’
बैठकको अन्त्यमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरे। उनले पुटिन र जेलेन्स्कीबीच हुने बैठकको तयारी थालिएको जानकारी दिएका छन्। उक्त बैठकपछि दुई राष्ट्रपति र आफू सहभागी हुने त्रिपक्षीय सम्मेलन आयोजना गरिने उनले बताएका छन् । ट्रम्पले यसलाई झण्डै चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ लैजाने प्रारम्भिक कदम भनेका छन्।
Facebook Comments