वैदेशिक रोजगारीका नाममा ठगीका उजुरी बढ्दै


काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनेहरूको संख्या बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार, गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ५ हजार ५५४ वटा ठगीसँग सम्बन्धित उजुरी परेका छन् ।
विभागको प्रगति विवरणअनुसार, आर्थिक वर्ष २०८१/०८२ मा ठगीका ४ हजार ९७४ उजुरी दर्ता भएका थिए भने साउन महिनामा थप ५८० उजुरी प्राप्त भएका छन् ।
यी उजुरीहरूमध्ये धेरैको मिलापत्र गराइएको छ भने केही मुद्दा अदालतमा पुगेका छन् । विभागले गत आर्थिक वर्षमा ५२८ उजुरीको मिलापत्र गराएर ३२ करोड ८७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराएको छ ।
त्यसैगरी, साउन महिनामा मात्रै ७४ उजुरीमा मिलापत्र गराएर साढे ३ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराइएको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या वृद्धि भएपछि ठगीका घटना पनि बढेको विभागले जनाएको छ ।
ठगीबाट बच्नका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए पनि घटना रोकिएको छैन । धेरैजसो युवाहरू आफन्त, ट्राभल एजेन्सी र कन्सल्टेन्सीजस्ता माध्यमबाट ठगिने गरेको पाइएको छ ।
Facebook Comments