भरतपुरको बाटुलीपोखरीमा घुँगीफोरको बासस्थान

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–१३ मा रहेको बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनबिल)का लागि महत्त्वपूर्ण प्रजनन केन्द्र बनेको छ । यहाँका १०४ वटा सुक्खा रुखमा घुँगीफोरले ४७८ वटा गुँड बनाएका छन्, जहाँ सयौँ चल्ला कोरलिएका छन् ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो क्षेत्रमा घुँगीफोरहरूको गतिविधि अवलोकन गर्न पन्छीविज्ञ तथा संरक्षणकर्मीहरू आउने गरेका छन् । समूहका अध्यक्ष कृष्णहरि प्रसाईँका अनुसार, प्रजनन अवधिमा चराहरूलाई असर नपरोस् भनेर पोखरीमा डुङ्गा चलाउन रोक लगाइएको छ ।
विसं २०६५ मा ड्याम निर्माण गरी पोखरीमा परिणत गरिएको यो क्षेत्र अहिले सिँचाइ मात्र नभई जैविक विविधताको पनि केन्द्र बनेको छ । सात वर्षअघिदेखि यहाँ घुँगीफोरहरू आउन थालेका हुन् ।
यी चराहरूले चैत–वैशाखमा गुँड बनाएर जेठमा फुल पार्छन् र भदौमा चल्ला कोरल्छन् । पहिले बीसहजारी तालमा गुँड बनाउने यिनीहरू त्यहाँका रुख कुहिएपछि बाटुलीपोखरीमा सरेको अध्यक्ष प्रसाईँले बताए ।
Facebook Comments