भारत–चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग


काठमाडौं । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले विभिन्न महत्त्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेषगरी भारत र चीनबीचको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापार मार्ग खोल्ने सहमति, लम्पीस्किन रोगको प्रकोप र सरकारले करका दरमा गरेको हेरफेरमाथि प्रश्न उठाइएको छ ।
लिपुलेकमा कूटनीतिक पहलको माग
सांसद रामहरि खतिवडा, मेटमणि चौधरी, र प्रभु साहले भारत र चीनले नेपालको भूभाग प्रयोग गरेर व्यापारिक मार्ग बनाउने सहमति गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको भन्दै आपत्ति जनाए ।
सांसद खतिवडाले प्रधानमन्त्रीको आगामी भारत र चीन भ्रमणका क्रममा कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
सांसद चौधरीले यसलाई ‘दादागिरी’को संज्ञा दिँदै कसैले पनि नेपालीलाई जिस्क्याउने प्रयास गर्न नहुने बताए ।
सांसद साहले यस विषयमा विगतमा नेपालले पठाएको कूटनीतिक नोटको सुनुवाइ किन भएन भन्दै प्रश्न गरे । उनले विदेशमा रहेका नेपाली राजदूतहरूको कार्यसम्पादन मूल्याङ्कनको माग पनि गरे ।
लम्पीस्किन र करका दरमाथि प्रश्न
त्यस्तै, सांसद महेशकुमार बर्तौलाले मकवानपुरमा लम्पीस्किन रोगले गाईभैँसी मरेको घटनाबारे सदनलाई जानकारी गराए ।
उनले असार र साउनमा मात्रै ३३ हजार ६४५ पशु प्रभावित भएको भन्दै खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर करका दरमा हेरफेर गरेको आरोप लगाउँदै यसलाई ’आर्थिक अपराध’ भने ।
उनले आर्थिक विधेयक पारित भएको एक महिनामै यस्तो हेरफेर गर्नु कानुनविपरीत भएको बताउँदै अर्थमन्त्रीसँग जवाफ मागेका छन् ।
यसबाहेक, सांसद भगवती चौधरीले थारु भाषाको संरक्षण र सरकारी कामकाजको भाषा बनाउन माग गरे भने सांसद हितराज पाण्डेले गोरखाको चुननुब्री गाउँमा भीरबाट लडेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरे ।
Facebook Comments