साकेला गाउँपालिकामा जनश्रमदान अभियान

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । यस अभियानमार्फत वर्षाले बिग्रिएका सडकहरू मर्मत गर्ने, नाली सफा गर्ने, सडक छेउका बोटबिरुवा हटाउने, फोहर व्यवस्थापन गर्ने र विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने काम भइरहेको छ ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राई स्वयं अभियानमा सक्रिय छन् र उनीसँगै स्थानीय नागरिक, केही कर्मचारी र प्राविधिकहरू पनि सहभागी छन् । अध्यक्ष राईले नागरिकलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले मुख्य र सहायक सडकहरूको मर्मत भइरहेको बताएका छन् ।
यस अभियानमा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, र कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडक लगायतका क्षेत्रमा काम भइरहेको छ ।
साथै, पालिकाभित्रका बजार, उद्यान र सार्वजनिकस्थलको सरसफाइ र वृक्षरोपण पनि गरिएको छ । यस अभियानमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षहरू पनि सहभागी छन् ।
Facebook Comments