मानव बेचबिखन आरोपमा उपसभामुख रानामाथि अनुसन्धान सुरू


काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको संस्थामा बालबालिका पठाइएको विषयमा प्रश्न उठेपछि प्रहरीले चासो देखाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी चन्द्रकुबेर खापुङले यस विषयमा बुझ्ने काम भइरहेको बताए । उनले सीआईबी मातहतको मानव बेचबिखन अनुसन्धान ब्यूरोले समेत प्रारम्भिक अध्ययन थालेको जानकारी दिए ।
२०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए ।
त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
यस विषयले तत्कालीन नेपाल बाल संगठनकी अधिकारी रीता सिंह वैद्यले दिएको बयानसँग जोडेर हेरिएको छ । छानबिन समितिसँग वैद्यले दिएको बयानमा ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ उल्लेख छ ।
उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारी चलिरहेका बेला यो विषय सार्वजनिक भएको हो ।
Facebook Comments