भारतसँग टाढिएको बंगलादेश पाकिस्तानसँग नजिकिँदै, सम्बन्धलाई मजबुत बनाउने सहमति


ढाका । सन् १९७१ मा विभाजित भएपछि कटु शत्रु बनेका बंगलादेश र पाकिस्तानबीच व्यापार वृद्धिलगायत लामो समयदेखि तनावपूर्ण सम्बन्धलाई मजबुत बनाउन आइतबार सहमति भएको छ ।
ढाकाका अनुसार युद्धको क्रममा भएको ज्यादतीका लागि इस्लामाबादले माफी माग्नुपर्ने आफ्नो पूरानो अडानबारे भने सम्बोधन हुन सकेको छैन ।युद्धका क्रममा गरिएको ज्यादती दुई देशबीचको सम्बन्धका लागि एउटा प्रमुख मुद्दा हो । उक्त युद्धका कारण पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बनेको थियो, त्यो अझै सुल्झिएको छैन ।
सन् २०१२ देखि ढाकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ पाकिस्तानी अधिकारी तथा इस्लामाबादका विदेशमन्त्री इशाक डारले भने, “हाम्रा दुई देशका जनताका लागि राम्रो गर्ने सम्भावना र क्षेत्र अथाह छ ।
सन् १९७१ को युद्धमा पाकिस्तानी सेनाले हालको बंगलादेशका लागि लडेका स्वतन्त्र सेनानीमाथि व्यापक ज्यादती भएको आरोप लागेको थियो ।बंगलादेशको अनुमानअनुसार युद्धमा लाखौं मानिस मारिएका थिए र ढाकाले अझै पनि इस्लामाबादले हत्याका लागि माफी माग्नुपर्ने माग गरिरहेका छन् ।
ढाकाका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले माफी माग्ने विषय नसुल्झिएको तर दुई देशबीचको सम्बन्ध लाई मजबुत बनाउन सहमत भएको बताए ।
हुसेनले भने, “बाँकी रहेका मुद्दाहरू समाधान गरिनुपर्छ भन्नेमा हामी एक सहमतिमा पुगेका छौँ । हामीले ती मुद्दा हाम्रो सम्बन्धमा बाधकको रूपमा खडा नहोऊन् भन्ने चाहन्छौँ।”
व्यापार र आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै सांस्कृतिक आदानप्रदानलाई बढावा दिनका लागि सम्झौताहरूमा हस्ताक्षर गरिएको छ । विश्लेषकहरूका अनुसार गत मे महिनामा पाकिस्तानसँग चार दिनसम्म चलेको द्वन्द्वलाई छिमेकी मुलुक भारतले अध्ययन गरिरहेको छ ।
सन् २०२४ को अगष्टमा बंगलादेशमा भएको जनविद्रोहले प्रधानमन्त्री शेख हसिनाको निरंकुश शासनको अन्त्य गरेपछि ढाका र नयाँ दिल्लीबीचको सम्बन्धमा चिसोपना आएको थियो ।
Facebook Comments