सुरु भयो तीज पर्व, आज दरखाने दिन


काठमाडौं । हिन्दु धर्मालम्बी महिलाहरूले मनाउने चार दिने हरितालिका तीज पर्व आजदेखि सुरु हुँदैछ। आज दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । पहिलो दिन आज सोमबार व्रतालु महिलाले दर खान्छन् भने दोस्रो दिन मंगलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् ।
तीजको दिन निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने गर्दछ । विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने गरेको पाइन्छ ।
पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरू पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरू सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन छ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले तीजमा पोख्ने परम्परा छ।
Facebook Comments