काठमाडौं महानगरद्वारा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट


काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रका खाद्य पसलहरूमा अनुगमन गरेको छ ।
महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको जाँच गरेको हो ।
अनुगमनका क्रममा चार रेस्टुरेन्टका खाना पकाउन प्रयोग गरिएको तेलको गुणस्तर total polar material (TPM) उपकरणले जाँच गर्दा दुई रेस्टुरेन्टको तेल मापदण्डविपरीत पाइएको थियो ।
अनुगमन टोलीले व्यवसायीकै रोहबरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ । यस्तै, मिठाई पसलमा गरिएको परीक्षणमा सबै मिठाईहरू मापदण्डअनुरूप पाइएको छ ।
अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन र कानुनसम्मत ढङ्गले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी यस्ता अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
Facebook Comments