उखु किसानको आन्दोलनमा माधव–बाबुराम र नारायणकाजीको समर्थन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad845eaade1.jpg

काठमाडौं । सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा आन्दोलनमा उत्रेका उखु किसानहरूको प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूले ऐक्यबद्धता जनाएका छन् ।

बजेट अभाव देखाउँदै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँबाट अनुदान रकम घटाएर ३५ रुपैयाँमा झारेपछि किसानहरू रुष्ट बनेका हुन् ।

यसको विरोधमा उखु उत्पादक महासंघको नेतृत्वमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका किसानहरूले आइतबारदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

प्रमुख नेताहरूको समर्थन
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार आन्दोलनस्थल माइतीघर मण्डला पुगेर किसानका माग जायज भएको भन्दै पार्टीको समर्थन रहेको बताए । उनले सरकारलाई माग पूरा गर्न आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि माइतीघर मण्डला पुगेर किसानहरूसँग धर्नामा बसेका थिए । उनले अनुदान रकम घटाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि किसानहरूको आन्दोलनलाई समर्थन जनाउन माइतीघर पुगेका थिए । उनले पनि किसानको मागलाई जायज भन्दै सरकारले समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

किसानहरूले पहिलेकै दरमा अर्थात् प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन् ।


Facebook Comments