एमाले विधान महाधिवेशनको तयारी पूरा, मुख्य नारा सार्वजनिक


काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीमा हुने आफ्नो दोस्रो विधान महाधिवेशनका लागि मुख्य नारा तय गरेको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ भने लालबाबु पण्डितलाई आवास व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
एमालेले महाधिवेशनका प्रतिनिधिहरूलाई कुनै शुल्क नलिने तर आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय गरेको छ । यद्यपि, आफैं व्यवस्थापन गर्न नसक्नेहरूका लागि लालबाबु पण्डितको टोलीले सहयोग गर्नेछ ।
अन्य उपसमितिहरूमा भिष्म अधिकारी (खाद्य), राजेन्द्र गौतम (प्रचार), विनोद श्रेष्ठ (मञ्च), कृष्णगोपाल श्रेष्ठ (स्वास्थ्य), भानुभक्त ढकाल (स्वयंसेवक) र हेमराज राई (सांस्कृतिक) ले नेतृत्व गरिरहेका छन् ।
Facebook Comments