राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् ।
सभापतिमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र उनको मात्रै एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
न्यौपानेको उम्मेदवारीमा पूर्व सभापति रामहरि खतिवडा प्रस्तावक र नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक बनेका थिए । खतिवडाले गत साउन २८ गते राजीनामा दिएपछि यो पद रिक्त भएको थियो ।
राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिनुअघि न्यौपानेले आफू सभापति रहेको संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएकी थिइन् ।
कांग्रेसका शीर्ष नेताहरूको बैठकले उनलाई राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले उक्त कदम चालेकी हुन् ।
न्यौपाने उपसभामुख पदमा पनि उम्मेदवार बनेकी थिइन् तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरसँग पराजित भएकी थिइन् ।
न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा भने बुधबार (भोली) दिउँसो ३ बजे बस्ने समिति बैठकमा हुनेछ ।
Facebook Comments