कवाड व्यवसायीको प्रदर्शन जारी, भन्छन्– ‘बालेनको गुण्डागर्दी बन्द गर’


काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको ज्यादतीको विरोधमा कवाड व्यवसायीहरूले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले भृकुटीमण्डपबाट सुरु गरेको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउमा परिणत भएको थियो ।
कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेशविपरीत महानगरका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको आरोप लगाए । गुप्ताले बालेन्द्र शाहलाई प्रश्न गर्दै भने, ‘के तिमी सर्वोच्च अदालतभन्दा माथि छौ? कानुनको कुरा गर्नेले कानुन मान्नुपर्छ कि पर्दैन?’
उनीहरूले आफ्नो ५ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरूका मागमा पेश व्यवसाय गर्ने अधिकारको ग्यारेन्टी, महानगर प्रहरीद्वारा भइरहेको तोडफोड र कुटपिट बन्द गर्नुपर्ने, ज्यादतीमा संलग्न प्रहरीलाई कारवाही गर्नुपर्ने, जिउ–धनको सुरक्षाको सुनिश्चितता र क्षतिपूर्तिको माग रहेका छन् ।
आन्दोलनकारीहरूले ‘सर्वोच्च अदालतको आदेश पालना गर,’ ’बालेनको गुण्डागर्दी बन्द गर’ जस्ता नारा लगाएका थिए ।
Facebook Comments