विदेह नगरपालिकामा एक हजार १ सय जनालाई लालपुर्जा वितरण


जनकपुरधाम । सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकामा १,१०० जना भूमिहीनलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेका छन् । नापी कार्यालय धनुषाद्वारा आयोजित एक कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका बासिन्दाहरूलाई लालपुर्जा दिइएको हो ।
मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि सङ्घीय सरकारको एक्लो प्रयास पर्याप्त नभएको भन्दै तीनै तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताए । उनले आगामी तीन वर्षभित्र भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको समस्या समाधान हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सङ्घीय सांसद रामकृष्ण यादवले जनताको हकहितको विषयमा राजनीति वा भेदभाव गर्न नहुने बताए । यता, विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले भने नापी कार्यालयका कर्मचारीहरूले लालपुर्जा बनाउने र नापजाँच गर्ने कार्यमा सर्वसाधारणलाई दुःख दिने र गैरकानुनी रूपमा पैसा माग्ने गरेको गुनासो गरे ।
Facebook Comments