कोशी प्रदेश:  क्यान्सर, मिर्गौलालगायतका  बिरामीलाई ८ करोड ८५ लाख सहायता वितरण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68aea41f9954d.jpg

झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/८१ मा दिएका निवेदनका आधारमा रु ५० हजार र रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए । 

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई रु एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए। चालु आव २०८२/८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए। “यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन”, सूचना अधिकारी राईले भने, “आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।”

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई रु दुई लाख र अन्य कडा खालका रोग लागेकालाई रु एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो । 

उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो ।


Facebook Comments