राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68aed951ad181.PNG

काठमाडौं । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन्। उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन । 

समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले  न्यौपानेलाई  सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाए ।

समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछिन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुन । यसअघि उनी तत्कालीन संविधान सभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।

कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


Facebook Comments