जनप्रतिनिधिसहितको समूहद्वारा वडा कार्यालयभित्रै शिक्षकमाथि निर्धात कुटपिट (भिडियो समाचार)

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68aedf08b8029.png

बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालगायत ६–७ जनाको समूहले एक युवकमाथि निर्धात कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । 

भिडिओमा गञ्जी मात्र लगाएका एक युवकको हात पछाडि बाँधिएको छ । वरिपरि सोफा, कुर्सीमा ५ जना मानिस बसेका छन् । तीमध्ये एक जनाले युवकको गालामा पिट्दै औंलाले ‘पख’ भन्ने संकेत गरेको देखिन्छ । अर्का व्यक्तिले भने युवकको गञ्जीमा समातेर कहिले आफूतिर, कहिले पछाडि तिर तान्ने लछार्ने गरेको र लात्तीले समेत हानेको देखिन्छ । भिडिओमा ‘इडिट’ गरेर कुटाइखाने युवकले आफूमाथि भएको घटना बारे बोलेको आवाज समेत राखिएको छ । 

कुटाइ खाने युवक पर्सा जिल्ला बहुदरमाईका नागेश्वर यादव हुन् । उनी बारा जिल्लाको प्रसौनी–६ बेलहियामा ससुरालीमा बसेर ‘स्मार्ट कोचिङ सेन्टरमा’ अध्यापन गराउँदै आएका छन् । यादवका अनुसार गत श्रावण २८ गते उनी आफ्ना केही विद्यार्थीहरुसँग एसईईको ग्रेडवृद्धि परीक्षाको अभ्यास पुस्तिका फोटोकपी गर्न बेलहिया बजार गएका थिए । बजारबाटै ७ जनाको समूहले आफूलाई अपहरण गरेर प्रसौनी गाउँपालिकाको ६ नम्बर वडा कार्यालय पुर्याएको यादवले बताएका छन् । वडा कार्यालयमा वडाध्यक्ष लगायतका ७ जनाको समूहले बाँधेर, अर्धनग्न बनाइ मरणाशन्न हुने गरी आफूमाथि कुटपिट गरेको समेत यादवको भनाइ छ । वडाध्यक्ष कुशवाहाले आफूलाई मार्ने र खोलामा फाल्ने धम्की समेत दिएको यादवले बताएका छन् । यादवले प्रहरीमा दिएको उजुरी अनुसार वडाध्यक्ष कुशवाहा लगायत सबै जना रक्सि सेवान गरेको अवस्थामा थिए । उनीहरुले आफूलाई सादा कागजमा औंठा छाप गर्न लगाएको समेत यादवले उजुरीमा उल्लेख गरेका छन् । 

घटना भएको तेस्रो दिन यादवले प्रहरीमा उजुरी दिएका थिए । उजुरी पर्नासाथ वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी जिल्ला अदालत बारामा मुद्दा समेत दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनीविरुद्ध अपहरण र शरिर बन्धकको आरोपमा मुद्दा दायर भइ म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उजुरी परेका अन्य ५ जनालाई समेत पक्राउ गर्न खोजी भइरहेको डिएसपी पण्डितले बताए । 

 माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कुशवाहालाई घटना सार्वजनिक भएसँगै पार्टीबाट समेत निलम्बन गरिएको छ । माओवादीका प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले विज्ञप्ति जारी गरी कुशवाहाले पार्टीको नीति, नियम र अनुशासन विपरीत कार्य गरेको भन्दै कार्बाही गरेको जानकारी दिएका छन् ।

 

 


Facebook Comments