सिरहामा निर्माण व्यवसाय गर्ने युवा चेक बाउन्स मुद्दाले मानसिक तनावमा

सिरहा । आफ्नै साथीले चेक चोरी गरेर ब्ल्याकमेल गरेपछि सिरहाका निरञ्जन यादव न्यायाको खोजीमा भौतारिरहेका छन् । सिरहा नगरपालिका १५ सुक्चेना बुधौराका २७ वर्षीय निरञ्जन यादव आफूलाई संगै बस्ने साथीले ब्ल्याकमेल गरेपछि मानसिक तनावमा पुगेको बताउँछन् ।
निरञ्जन र मिर्चैया नगरपालिका–११ का भोगेन्द्र यादवबीचको मित्रता जनकपुरस्थित एक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्ने क्रममा सुरु भएको थियो। पढाइ सकेपछि दुवैले संयुक्त रूपमा निर्माण व्यवसाय सुरु गर्ने निर्णय गरे र कम्पनी निरञ्जनकै नाममा दर्ता भयो।
२०७९/८० मा धनुषाको हाँसपुर नगरपालिकामा करिब ७७ लाख रुपैयाँको सडक कालोपत्रे ठेक्का पाउँदा उनीहरूको व्यावसायिक यात्रा अघि बढ्यो । कामको साइड व्यवस्थापन भोगेन्द्रले लिए भने आर्थिक तथा कागजी काम निरञ्जनले सम्हाले। पछि मिर्चैया नगरपालिका–१२ का उपेन्द्र यादव पनि व्यवसायमा संलग्न भए।
धनुषाको काम सम्पन्न भए पनि गुणस्तरसम्बन्धी विवाद देखाउँदै पालिकाले भुक्तानी रोकेपछि घाटा व्यहोर्नुपर्यो। घाटा पूर्ति गर्ने उद्देश्यले सप्तरीको हनुमान नगरपालिकामा अर्को ठेक्का लिए पनि फेरि घाटा भयो।
यसबीचमा भोगेन्द्र र उपेन्द्रले निरञ्जनलाई रकम नदिएको आरोप लगाउँदै विवाद सुरु गरे। कामको क्रममा निरञ्जनले भोगेन्द्रलाई भुक्तानी गर्न भनेर दिइएका खाली ७ वटा चेकमध्ये चेक ५ वटा आफैसँग राखेको पाइएको छ। विवाद सुरु भएको केही दिनमै उपेन्द्रले ४५ लाख भरेर निरञ्जनलाई चेक बाउन्स गराए । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।
एक वर्षपछि भोगेन्द्रले पनि ३५ लाख रुपैयाँको चेक बाउन्स गराए। धेरै छलफलपछि १७ लाख बुझाउने सहमति भए पनि भोगेन्द्रले पुनः थप रकम माग्दै धम्की दिन थालेको निरञ्जनको आरोप छ।
'साथीले नै यसरी धोका दिन्छ भनेर कहिल्यै सोचेको थिइनँ। प्रमाण हुँदाहुँदै पनि प्रहरी उनीहरूसँग मिलेर अन्याय गर्छ,' निरञ्जन भन्छन्, 'न्याय नपाउँदा आत्महत्या गर्न बाध्य भएको अवस्थामा पुगेको छु।' उनका अनुसार प्रहरीसमक्ष पटक–पटक गुहार्दा पनि सुनुवाइ भएको छैन।
यता, भोगेन्द्रले भने आफू पीडित भएको दाबी गर्दै कानुनमार्फत रकम उठाउने प्रयास गरेको बताउँछन्। 'दुवै योजनामा नाफा भएको छ। मैले साइडमा काम गराएको छु। निरञ्जनसँग पैसा माग्दा नदिएपछि चेक बाउन्स गराएको हुँ। कानुनले मलाई पैसा दिलाउनेछ' उनले भने।
Facebook Comments