वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी जारी, जोगिन गृहमन्त्रीलाई भेटेको खुलासा


धरान । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापा विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीको अनुमतिमा प्रहरीले पुर्जी जारी गरेको हो ।
२०८१ फागुन २२ गते थापाले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार देविका खनाल गम्भीर घाइते भएपछि पीडित पक्षले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो ।
अदालतको आदेशपछि प्रहरीले गत साउन १६ गते मुद्दा दर्ता गरी साउन २० गते पक्राउ पुर्जी जारी गरेको थियाे । यद्यपि, मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भइसक्दा पनि वडाध्यक्ष थापाले भदौ ८ गतेसम्म कार्यालयको काम गरिरहेको पाइएको छ । त्यसपछि उनले वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार भएका छन् ।
कानुनअनुसार फौजदारी मुद्दा लागेको सार्वजनिक पद धारण गरेको व्यक्ति स्वतः निलम्बनमा पर्ने भए पनि थापाले काम गरिरहेका थिए । प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले थापालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।
फरार रहेका वडाध्यक्ष थापाले भने कारबाहीबाट बच्न उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ र गृहमन्त्री रमेश लेखकलाई भेटेको बुझिएको छ ।
Facebook Comments