भोजपुरमा निगुरोबाट आम्दानी गर्दै स्थानीय


भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रका मानिसहरूको आम्दानीको मुख्य स्रोत निगुरो बन्न थालेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले खोलाखोल्सी र वनपाखाबाट सङ्कलन गरेको निगुरो बेचेर राम्रो आम्दानी गर्न थालेका हुन् ।
टेम्केमैयुङ–५, चोलन्ती र मझौले गाउँका स्थानीयवासीले सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा र काठमाडौं लगायतका सहरमा पुग्ने गरेको छ ।
पहिले खेर जाने निगुरोको अहिले गाउँमै राम्रो मूल्य पाइन थालेको स्थानीय डम्बरबहादुर विष्टले बताए । ठेकेदारहरू आफैँ गाडी लिएर गाउँमा निगुरो लिन आउने गरेका छन् ।
सङ्कलित निगुरो प्रतिकिलो ४० रुपैयाँसम्ममा घरबाटै बिक्री हुने गरेको छ । पातभन्दा डाँठ भएको निगुरोको बजारमा राम्रो माग हुने गरेको स्थानीय लालबहादुर विष्टले बताए । उनका अनुसार एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निगुरो सङ्कलन गर्न सक्छन् ।
पहाड र तराई दुवैतिर पाइने भए पनि पहाडी क्षेत्रको डाँठे निगुरोको माग बजारमा बढी छ । जेठ–असारदेखि कात्तिक महिनासम्म निगुरो सङ्कलन गरी बिक्री हुने गरेको छ । अग्र्यानिक र सजिलै उपलब्ध हुने भएकाले निगुरो सहरी क्षेत्रका मानिसहरूको रोजाइमा परेको छ ।
Facebook Comments