नुवाकोटको शिवपुरी गाउँपालिकाका वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b96addafa8c.jpg

काठमाडौं । चार वर्ष पहिले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीबाट काठमाडौँमा आएर बसेका ८६ वर्षीय खोपप्रसाद पाण्डे काठमाडौँबाटै वृद्धभत्ताको कार्ड नविकरण गर्न पाएपछि खुसी भएका छन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाका लागि अनलाइन प्रक्रियाबाट वायोमेट्रिक प्रणाली अनिवार्य गरेसँगै वृद्धभत्ताका लागि वडा कार्यलयमा अनिवार्य जानुपर्ने बाध्यताबीच वडाले काठमाडौँमा आएर वृद्धभत्ताको नविकरण गरिदिएपछि उनी खुशी भएका हुन् ।

“गाउँमा जान समस्या हुन्थ्यो, वडा कार्यालयले हामीलाई खोजेर यहीँ आएर सेवा दिएकोमा सारै खुशी लागेको छ”, उनले भने । यस्तै, सुनखानीकै १०४ वर्षीय देवकुमारी पाण्डेले पनि काठमाडौँबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गरे । उमेरले सबैभन्दा बढी उनी काठमाडौँबाटै सेवा लिन पाएकोमा खुशी देखिन्छिन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–६ की सावित्री थापा काठमाडौँको साङ्लामा बस्छिन् । उनी काठमाडौँबाट आफ्नो सेवा पाएकोमा खुशी छिन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकाका–६ र ७ ले आज काठमाडौँको टोखाबाट आफ्ना वडावासीले सेवा प्रदान गरेको छ । वडा नं ६ ले टोखाको ग्रीनल्याण्ड र वडा नं ७ ले बानियाटारस्थित विआर इलेक्ट्रिोनिक्सबाट आफ्ना नागरिकलाई सेवा प्रदान गरेका हुन् ।

वडा नं ६ का वडाअध्यक्ष विष्णु श्रेष्ठ काठमाडौँ बसेका आफ्ना ज्येष्ठ नागरिकको सहजताका लागि काठमाडौँमै आएर वडाको सेवा प्रदान गरिएको बताउँछन् । “वडाभित्रका १० ठाउँमा घुम्ती सेवा सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरेका थियौँ, आज काठमाडौँमा बसेका आफ्ना वडाबासीलाई उक्त सेवा प्रदान गर्न यहाँ आएका छौँ,” वडाध्यक्ष श्रेष्ठ भन्छन् । 

वडा नं ७ का वडाध्यक्ष वीरबहादुर तामाङ हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाको सेवा काठमाडौँमा आएर प्रदान गरिएको बताउँछन् । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको नविकरणका अलावा दुबै वडा आज एक दिन विवाह दर्ता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको सेवा काठमाडौँबाटै प्रदान गरेका छन् । वडा नं ६ बाट ७५ र वडा नं ७ बाट ६० ज्येष्ठ नागरिकले सेवा लिने विश्वास ती वडाले गरेका छन् ।


Facebook Comments