सुदूरपश्चिमको गोदावरी–ओलानी सडक निर्माण ६ वर्षदेखि अलपत्र

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bad10642816.png

गोदावरी । कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माण कार्यमा ठेकेदारको लापरबाहीका कारण ढिलाइ भएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाका रूपमा रहेको यो सडक निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन ।

भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले अढाई किलोमिटर सडक निर्माणका लागि २०७७ भदौ १८ मा एड्भेञ्चर गेगिङ सन्लाइट जेभीसँग ५ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ माघ १७ गतेभित्र काम सम्पन्न भइसक्नुपर्ने थियो, तर पटकपटक म्याद थप गर्दा पनि काम अघि बढ्न सकेको छैन ।

यसको असरले चौकीडाँडा–ओलानी–फल्टुडे सडकको थप तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि रोकिएको छ । उक्त खण्डको काम १८ महिनामा सक्ने गरी तेडी निर्माण सेवासँग ५ करोड ७६ लाख रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीय बासिन्दा आक्रोशित छन्। गोदावरी नगरपालिकाका वडाध्यक्षहरूले सडकबाटै कार्यालय सञ्चालन गरेर प्रतीकात्मक विरोधसमेत गरेका छन् ।

उनीहरूले ठेकेदार कम्पनीहरूको लापरबाहीका कारण स्थानीय जनताले दैनिक आवागमनमा ठूलो समस्या भोग्नुपरेको बताएका छन् । यो सडक बनेपछि २० हजारभन्दा बढी मानिसलाई फाइदा पुग्ने र भीमदत्त लोकमार्गको वैकल्पिक मार्ग बन्ने अपेक्षा गरिएको छ ।


Facebook Comments