हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका


दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा अब प्रत्येक शुक्रबारका साथै सोमबार पनि हाटबजार लाग्ने भएको छ । भदौ ३० गतेदेखि गाउँपालिकाको वडा नं. २, सिद्धि गणेश टोलको बसपार्क क्षेत्रमा नयाँ हाटबजार सुरु हुने भएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषक र उपभोक्ताको मागलाई ध्यानमा राखेर स्वदेशी उत्पादनलाई बढावा दिन यो निर्णय गरिएको बताए । अहिले गाउँपालिका कार्यालय नजिकै प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ, जहाँ स्थानीय कृषिउपज सामग्री किन्न उपभोक्ताहरूको भीड लाग्ने गर्छ ।
गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार, हाटबजारमा स्थानीय उत्पादनहरू जस्तै मह, गोलभेँडा, सिस्नु, गिट्ठा, बेथेको साग, दही, मोही र फर्सीको मुन्टाजस्ता दैनिक उपभोग्य वस्तुहरू बिक्रीवितरणको व्यवस्था मिलाइएको छ ।
स्थानीय कृषकहरूले पनि हाटबजारले आफूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणमा सहयोग पुगेको र उचित मूल्य पाएको बताएका छन् ।
Facebook Comments