भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै जेनजी पुस्ता


काठमाडौं । सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले काठमाडौंमा प्रदर्शन गर्दैछन्। माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्। उनीहरुले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए।
जेनजी पुस्ताले माइतीघरमा भेला भएर ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन्। जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि, नेता र कलाकार लगायतले समर्थन गरेका छन्।
यसैबीच, जेन–जीले गर्न लागेको प्रदर्शनमा एमाले असन्तुष्ट छ । एमालेका केही नेताले त जेन–जीमाथि आपत्तिजनक अभिव्यक्ति नै दिएका छन् । प्रमुख सत्तारूढ कांग्रेसको संस्थापन पक्ष यसबारे मौन छ । अन्य ठुला दल र नेता तथा कलाकारहरूले भने जेन–जीको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको प्रदर्शन स्वाभाविक रहेको भन्दै बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । यसैगरी रास्वपा सभापति रवि लामिछानेले पनि जेन–जीको कार्यक्रमप्रति ऐक्यबद्धता जनाएका छन् ।
यसैगरी कांग्रेस नेता शेखर कोइरालाले जेन–जी युवा सरकारविरुद्ध सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूबिचको सोचाइको अन्तरका कारण भएको बताएका छन् । उनले जेन–जीको आवाज सुनेर परिवर्तनका लागि तयार हुनुपर्ने पनि बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको आवाज सुन्ने हिम्मत गरौँ र आफूलाई परिवर्तन गरौँ । नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहन्न ।’
यसैगरी काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहले पनि जेन–जीको प्रदर्शनमा समर्थन जनाएका छन् । उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले पनि जेन–जीको प्रदर्शनलाई समर्थन जनाएका छन् ।
Facebook Comments