जंगीअड्डा र सुन्धारामा जेनजीबीच एकआपसमा कुटाकुट
जेनजीमा आन्तरिक कलह
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते २१:०९
काठमाडौं । ‘जेनजी’ आन्दोलनले देशमा राजनीतिक शून्यता सिर्जना गरेपछि आन्दोलनकारी समूहहरूबीच नै आन्तरिक विवाद र झगडा सुरु भएको छ । आन्दोलनको नेतृत्व कसले लिने र भावी अन्तरिम सरकारको प्रमुख को हुने भन्ने विषयलाई लिएर युवाहरूबीच नै झडप भएको छ ।
सैनिक मुख्यालय (जंगीअड्डा) मा भेला भएका युवाहरूबीच अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वबारे विवाद बढ्दै गएपछि कुटाकुट भएको छ । एक समूहले अर्को समूहलाई लखेटेर कुटपिट गरेका छन् । हर्क साम्पाङलाई अन्तरिम सरकारको प्रमुख बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङ समर्थकहरूले कुटपिट गरेको जनाइएको छ ।
सुन्धारामा पनि हर्क साम्पाङका समर्थक र जेनजी आन्दोलनका अन्य समूहबीच प्रधानमन्त्री को बन्ने भन्ने विषयमा झडप भएको छ । निषेधाज्ञा जारी रहे पनि दुई समूहबीचको विवादले अवस्था तनावपूर्ण बनेको छ । अहिले सेनाले एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई सुन्धारा सडकमा आउजाउ गर्न दिएको छैन ।
आन्दोलनकारीहरूले सुशीला कार्की, कुलमान घिसिङ, बालेन शाह र हर्क साम्पाङ जस्ता फरक–फरक व्यक्तिहरूको नाम अघि सारेपछि जेनजी आन्दोलनका आह्वानकर्ताहरूबीच नै फाटो देखिएको छ । सामाजिक सञ्जालमा समेत अलग–अलग समूह सक्रिय छन् ।
आन्दोलनको नाममा भएको आगजनी, तोडफोड र लुटपाटले देश लगभग राज्यविहीन अवस्थामा पुगेको छ, र जेनजीको फरक–फरक वक्तव्यले राजनीतिक शून्यता झन् लम्बिएको छ । कुनै स्पष्ट संगठन, संरचना वा नेतृत्व नभएका यी समूहहरूको आधिकारिकतामाथि नेपाली सेनाले पनि प्रश्न उठाएको छ ।
Facebook Comments