संवैधानिक प्रक्रियाबाट समस्या समाधान गरौँ : पत्रकार महासङ्घ

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते १४:१५
Image of https://mayorsap.com/storage/photos/10/68c2ad38eebc7.jpg

काठमाडौं । नेपाल पत्रकार महासङ्घले देशमा उत्पन्न सङ्क्रमणकालीन अवस्थाको अन्त्य गरी शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । 

महासङ्घका अध्यक्ष निर्मला शर्माले एक विज्ञप्ति जारी गर्दै वर्तमान संविधानले निर्धारण गरेका प्रक्रिया र संस्थामार्फत नै मुलुकलाई सहज निकास दिनुपर्नेमा जोड दिएकी छन् ।

महासङ्घले राष्ट्रपतिले जेनजी प्रतिनिधिसँग वार्ताका लागि आह्वान गरिसकेको अवस्थामा सुरक्षा निकायले सहजीकरण गरी यथाशीघ्र अन्तरिम सरकार बनाउने कार्यको पहल राष्ट्रपतिबाटै हुनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गीअड्डाबाट होइन।”

साथै, पछिल्लो समय शान्तिसुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकाको पनि महासङ्घले प्रशंसा गरेको छ । 

महासङ्घले जेनजी पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका माग जायज भएको भन्दै यसलाई लोकतान्त्रिक गणतन्त्रको संरक्षण र थप उपलब्धिका लागि उपयोग गर्नुपर्ने बताएको छ ।

आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महासङ्घले पत्रकार तथा सञ्चारमाध्यमलाई निशाना बनाइएकोमा दुःख व्यक्त गरेको छ । 

यो कठिन र निर्णायक मोडमा सबै सरोकारवाला पक्षलाई संयम र संवेदनशील भई जिम्मेवारीपूर्वक प्रस्तुत हुन पनि महासङ्घले हार्दिक अपील गरेको छ ।


Facebook Comments