सिंहदरबारको पुनर्निर्माण र मन्त्रालय सञ्चालन गर्न मुख्यसचिवको पहल

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c3ba8ae3b77.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि ठप्प भएका सिंहदरबारभित्रका मन्त्रालयहरू पुनः सुचारु गर्न मुख्यसचिव एकनारायण अर्यालले पहल सुरु गरेका छन् । आज मुख्यसचिव अर्यालसहित अन्य सचिवहरूले सिंहदरबारभित्र भएको क्षतिको अवलोकन र अनुगमन गरिरहेका छन् ।

हिजो मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक गरी शुक्रवार (आज) आआफ्नो कार्यालयको सरसफाइ गरी सम्भव भएसम्म काम सुचारु गर्न निर्देशन दिएका थिए ।

आज सोही निर्देशनअनुसार अधिकांश सचिवहरू सिंहदरबार पुगेका छन् । आगजनीबाट सिंहदरबारका केही ठूला भवनहरू क्षतिग्रस्त भए पनि आन्तरिक संरचनाहरू सुरक्षित रहेको अनुमान गरिएको छ ।

एक सचिवका अनुसार, ‘फल्स सिलिङ, काठका झ्यालढोकाहरू र बाहिरी आवरणमा क्षति पुगेको भए पनि मुख्य भित्री संरचना सुरक्षित रहेको आशा छ ।’ ती सचिवले केही महिनाभित्रै पुनर्निर्माण गर्न सकिने र त्यतिञ्जेलसम्मका लागि अस्थायी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको बताए ।

मुख्यसचिव अर्यालले एक–दुई दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त हुने सम्भावना रहेको भन्दै नयाँ प्रधानमन्त्रीलाई स्वागतका लागि तयार रहन पनि सचिवहरूलाई निर्देशन दिएका छन् । यद्यपि, नयाँ प्रधानमन्त्रीको कार्यालय कहाँ राख्ने भन्ने विषयमा भने निष्कर्षमा पुगिएको छैन ।


Facebook Comments