‘जेनजी’ प्रदर्शनको मारमा पर्यटन क्षेत्र : २५ अर्बको क्षति, आशा कायमै


काठमाडौं । ‘जेनजी’ आन्दोलनले मुलुकमा ठूलो भौतिक र मानवीय क्षति पुर्याउनुका साथै पर्यटन क्षेत्रलाई पनि गम्भीर असर पारेको छ । पर्यटकीय सिजन सुरु हुन लागेकै बेला भएको हिंसा र अस्थिरताका कारण केही विदेशी पर्यटकको बुकिङ रद्द भएको छ भने समग्र पर्यटन क्षेत्रमा अन्योल छाएको छ ।
होटल संघका अनुसार, देशभरका झन्डै दुई दर्जन होटलमा आगजनी, तोडफोड र लुटपाट भएको छ, जसबाट करिब २५ अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति अनुमान गरिएको छ । काठमाडौंको हिल्टन होटलमा मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको बताइएको छ ।
विज्ञहरूको आशावादी दृष्टिकोण
विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता विपद्बाट समेत छिट्टै उठेको अनुभव भएकाले पर्यटन क्षेत्रका विज्ञहरू भने अझै आशावादी छन् ।
पूर्वअर्थसचिव रामेश्वर खनाल ले अहिलेको अवस्था विगतका विपद्जस्तो नभएकाले पर्यटन क्षेत्र छिट्टै सुधार हुने विश्वास व्यक्त गरेका छन् । उनले मुख्य स्रोत बजार भारत र चीनबाट आउने पर्यटकलाई कुनै खतरा नभएको र पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा पनि असर नपुगेको बताएका छन् ।
अर्थशास्त्री डा. समिर खतिवडा ले पर्यटनमा ठूलो सम्भावना रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् । उनले यो प्रदर्शनले नेपाललाई ‘कोर्स करेक्सन’ गर्ने अवसर दिएको बताए ।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी ले पर्यटनको पुनरुत्थानका लागि पहल सुरु गरिसकेको र यसका लागि ‘ड्राफ्ट प्लान’ तयार गरिएको जानकारी दिएका छन् । उनले अहिले नेपालमा रहेका करिब १५ हजार विदेशी पर्यटकलाई सुरक्षित राख्नु पहिलो प्राथमिकता भएको बताए ।
होटल संघका अध्यक्ष विनायक शाह ले पर्यटनलाई आर्थिक समृद्धिको महत्त्वपूर्ण क्षेत्र मान्दै सबै सरोकारवालाहरू एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले विगतमा विपद्पछि पनि पर्यटन छिट्टै उठेको स्मरण गराए ।
यसैगरी, नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पनि संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका छन् ।
Facebook Comments