‘जेनजी’ आन्दोलनले कांग्रेसलाई सच्चिने अवसर दियो : शेखर कोइराला

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c50489e88bb.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनजी आन्दोलनको आक्रोश र उर्जालाई कांग्रेसले आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले नयाँ बनेको अन्तरिम सरकारले युवाहरूको विश्वास जित्ने आशा व्यक्त गर्दै आन्दोलनका कारण दुई ठूला दल सत्ताबाट बाहिरिन बाध्य भएको स्वीकार गरेका छन् ।

कोइरालाले जेनजी आन्दोलनमा भएको हिंसा, सार्वजनिक सम्पत्तिको तोडफोड र व्यक्तिको सम्मानमाथि गरिएको व्यवहारलाई ‘जघन्य अपराध’को संज्ञा दिएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको हातपात र लुटपाटको कडा शब्दमा निन्दा गरेका छन् ।

‘हामी चुक्यौं, अब सच्चिनुपर्छ’ भन्दै कोइरालाले कांग्रेसले विगतका रणनीतिक भूलहरूलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने बताए । ‘अब पार्टी ‘न दाजुको न भाइको, कांग्रेस कांग्रेसजनको’ भनेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

कोइरालाले बीपी कोइरालाको विचार र लोकतान्त्रिक आन्दोलनको धरोहरका रूपमा रहेको आफ्नो निवास जलाइएकोमा दुःख व्यक्त गर्दै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न। यो खरानीबाट नै नयाँ कांग्रेसको नवनिर्माण गर्ने प्रण गरौँ ।’


Facebook Comments