पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले भनिन्–म सत्ताको रसास्वादन गर्न आएको होइन
'आन्दोलनको क्रममा भएको आगजनी र तोडफोड षड्यन्त्र हुन सक्छ'

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू सत्ताको रसास्वादन गर्न प्रधानमन्त्री नभएको बताएकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले रहरले नभएर चौतर्फि रुपमा जिम्मा लिनुपर्ने सुझाव आएपछि आफू विवश हुनुपरेको बताएकी हुन् ।
उनले भनिन् ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुपर्यो । सत्ताको रसास्वादन गर्न आएको होइन ।’
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने समेत बताएकी छन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् । उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् ।
उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।
उनले सबैलाई कसरी उठाउने भन्नेमा सरकारले सोचिरहेको भन्दै सबैको सहयोगमा आफूले ६ महिनाको अवधिपछि निर्वाचित जनप्रतिनिधिहरूलाई सुम्पने बताइन् ।
Facebook Comments