सेप्टेम्बर ८ को कत्लेआम र ९ को विद्रोहका मनोवैज्ञानिक कारणहरू

User Image कृष्ण तिवारी | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Singadurbar on fire.jpg

सेप्टेम्बर ८ का दिन ठूलो सङ्ख्यामा (आजसम्मको जानकारी अनुसार ७२ जना ) कलिला बालबालिका मारिए पछि समाजमा ठूलो आक्रोश र त्रासदीको अवस्था उत्पन्न भयो । नेताहरूकाे आदेशमा प्रहरीले गरेकाे कामबाट फैलिएकाे त्रासदी सामूहिक आक्रोश (Collective Anger) मा रुपान्तरण हुन पुग्यो । ठूलो संख्यामा निर्दोष मानिस मारिँदा समाजमा गहिरो अन्यायबोध भयो । मानिसहरूले "अब मौन बस्नु अपराध हुन्छ" भन्ने महसुस गर्न पुग्ने स्थिति बन्यो । यसले भावनात्मक विस्फोटको रूप लिएको देखिन्छ ।

अर्को कारण सामूहिक आघात (Collective Trauma) पनि हो । नरसंहार जस्तो घटनाले जनमानसमा साझा पीडा र त्रास सिर्जना गर्‍यो र व्यक्तिगत पीडा सामूहिक रूपमै सडकमा पोखियो । जब समाजले सामूहिक आघात व्यक्त हुने बाटो पाएन, त्यसले  हिंसात्मक रूप लियो । यद्यपि  दोस्रो दिनको हिंसामा पहिलाे दिनजस्ताे मानवीय क्षति भएन । शेरबहादुर देउवा, आरजु राणा त्यत्रो भिडमा हुँदा समेत भिडले सकुशल नै सुरक्षा फौजलाई जिम्मा लगाएको देखिन्छ ।

शत्रु/दोषीलाई खोज्ने प्रवृत्ति (Scapegoating)

पीडित पक्षलाई दोषी 'को ?' भन्ने प्रश्नले सतायो । जब तत्काल न्याय वा जवाफदेहिता देखिँएन, मानिसहरूले सत्तारूढ निकाय, प्रशासन वा प्रतीकात्मक संरचनामाथि आक्रोश पाेख्न पुगे । हो, भीड मनोविज्ञान (Crowd Psychology) यसको एउटा ठूलो फ्याक्ट पनि हो । एक्लै हुँदा शान्त देखिने व्यक्ति भीडमा हुँदा व्यक्तिगत पहिचान हराएको देखिन्छ । “भीडको उर्जा” मा मानिसहरुले सामान्य अवस्थामा नगर्ने काम (तोडफोड, आगजनी) गर्न सक्ने भए । समाजशास्त्री गुस्ताभ ले बोन (Gustave Le Bon ले व्याख्या गरेको  “crowd theory” ले यसलाई पुष्टि गरेको छ । न्याय प्रणालीप्रतिको अविश्वास (Distrust in Institutions) पनि एउटा उल्लेखनीय कारणमध्ये एक हो । जो मौलाउदै गएको थियो । यदि न्याय दिने निकायहरू (सर्वोच्च अदालत, प्रहरी, सरकार) जनतामा विश्वसनीय नदेखिने अवस्था आउँछ भने मानिसहरूले “स्वतःस्फूर्त प्रतिशोध” को बाटो रोज्छन् । सेक्टेम्बर ९ काे घटना यही यथार्थकाे परिणाम हाे ।

इतिहासको पुनरावृत्ति (Historical Memory) को कोणबाट पनि घटनालाइ हेर्न सकिन्छ । यसअघिका जनआन्दोलन, जनयुद्ध, विद्रोहका अनुभवहरूले नेपाली जनमानसलाई “हिंसात्मक दबाबले मात्र सुन्ने हो” भन्ने विश्वास र अनुभव पनि दिलाएको छ । त्यसैले जनताले फेरि उही रणनीति प्रयोग गरेकाे देखिन्छ ।

नेपालका विगतका आन्दोलन, २०४६ को जनआन्दोलन,२०६३/६३ को आन्दोलन, २०१५ को मधेस आन्दोलनलाई तुलना गर्दै “हिंसात्मक प्रतिक्रिया सामाजिक संस्कृतिमा जरा गाडेको छ कि छैन ?” भनेर प्रश्न उठेकाे छ।

यसरी नरसंहारपछि भएको आगजनी र तोडफोड मात्र  क्षणिक रिस थिएन । यो त सामूहिक आघात, न्यायप्रतिको अविश्वास र भीड मनोविज्ञानको परिणाम थियो। यसलाई बुझ्दा “जनताको हिंसा किन भयो ?” भन्दा पनि “किन उनीहरूलाई शान्तिपूर्ण बाटो विश्वसनीय लागेन ?” भन्ने प्रश्नले गहिरो जवाफ दिएको छ । दीर्घकालीन रुपमा सत्ताका साझेदारहरू एमाले-माओवादी-काङ्ग्रेसहरू एक-अर्कालाई नियमित आरोप-प्रत्यारोप लगाउँदै जाने अनि फेरि तुरुन्तै गठबन्धन बनाउन उद्धत भइहाल्ने लामो शृङ्खलाले समाजमा ठूलो भ्रम पैदा भएको थियो । बेरोजगारी र बाध्यात्मक वैदेशिक पलायनको कारणले समाजमा धेरै पीडाहरु थपिएका थिए भने तत्कालीन कारण चाहिँ सामाजिक सञ्जाल बन्द गरिनु (बिदेशमा रहेका आफन्तसङ्ग समेत कुरा समेत गर्न नपाउने अवस्था तयार हुनु,त्यसै गरी २ दिन अगाडि मन्त्रीको गाडी बालिकालाई हिर्काउनु र मन्त्री र प्रधानमन्त्रीले तुच्छ व्यवहार प्रस्तुत गर्नु) ले ठूलो आक्रोश नागरिककाे मानसपटलमा पैदा भएकाे थियो ।

प्रधानमन्त्री  एमाले नेताहरू र मन्त्रीहरूका बारम्बार अनावश्यक उत्तेजना बढाउने टिप्पणीहरुले पनि खराब माहोल बनाउँदै गएको थियो । जेन-जीका भाइ बहिनीहरुको सूचना प्रवाहको डिजिटल पहुँच र प्रयोगको परिणाममा सरकार निरीह देखिनु प्रमुख कारण थियो । ९ तारिखका दिन बिहानैदेखि भएका हिंसा र आगजनीका तस्बिर–भिडियोहरू सामाजिक संजालका माध्यमबाट तुरुन्तै देशैभर फैलिनुले स्थिति नियन्त्रण बाहिर पुग्यो । सरकारले पहिलाे दिनकाे घटनालाई शान्त पार्न इन्टरनेट निस्कृय पार्न सक्थ्याे । र, आन्दाेलनरत पक्षहरूसँग वार्ता र संवाद गर्न सकिन्थ्यो । त्यसाे गरेकाे भए त्यत्रो आगजनी र तोडफोडलाई रोक्न सकिन्थ्यो । स्थिति नियन्त्रणका लागि घनिभूत काम गर्नुको सट्टा मध्ये दिनमा देशकाे कार्यकारी प्रमुख (प्रधानमन्त्री) को राजीनामाले सत्ता नै निष्क्रिय हुन पुग्यो ।

९ तारेखको विद्रोहमा सुरक्षा फौज (प्रहरी, सशस्त्र, सेना आदि) किन पूर्णरूपमा निष्क्रिय देखियो भन्ने कुरा मनोवैज्ञानिक, राजनीतिक र संरचनागत कारणबाट बुझ्न सकिन्छ।
सुरक्षा निकाय निष्क्रिय हुनुका कारणहरूमा मनोवैज्ञानिक आघात र द्विविधा प्रमुख देखिन्छ । ८ गतेको नरसंहारकै घटनाले सुरक्षा निकायभित्र पनि त्रास, आघात र नैतिक द्विविधा सिर्जना गरिसकेको थियो। प्रहरी वा सेनामा भएका धेरै सदस्यहरू आफैँ जनताको बीचबाट आएका हुन्छन् । जनतामाथि गोली चलाउन आदेश पाउँदा उनीहरू कर्तव्य र भावना बीच अड्किन पुगेका थिए । राजनीतिक आदेशको अभाव (Command Vacuum) को स्थिति पनि सिर्जना भएको थियो ।

सामान्यतया विद्रोहको बेला सुरक्षा फौज आफैँले निर्णय गर्न सक्दैन । स्पष्ट आदेश (Chain of Command) नआएसम्म उनीहरू निष्क्रिय देखिन्छन्, जुन सेप्टेम्बर ९ मा देखियो । यदि सरकार वा नेतृत्व अनिश्चित छ भने आदेश नआउँदा “wait and see” (हेरेर बस्ने) अवस्था हुन्छ नै। जनतासँग सीधा टकराव नगर्ने रणनीतिले पनि यस्ताे अवस्था सिर्जना भयो । धेरै देशका विद्रोह/आन्दोलनमा देखिएकै कुरा हो, “हिंसात्मक भिडन्तले झन् ठूलो रक्तपात ल्याउँछ ।” त्यसैले सुरक्षा फौजले कहिलेकाहीँ “जानाजानी निष्क्रियता” देखाउँछ, ताकी स्थिति आफैँ शान्त होस्। अर्को मुख्य कारण भीडको संख्यात्मक दबाब पनि थियो। मनोविज्ञानमा भनिन्छ, जब सुरक्षा बल र भीडबीचको संख्यात्मक अनुपात असमान हुन्छ, बल प्रयोग गर्न सकिने अवस्था लगभग रहँदैन। हजारौं/लाखौं जनताको भीडमा सीमित फौजले नियन्त्रण गर्न खोज्दा उल्टै थप ठूलो नागरिक हताहती हुने सम्भावना रहन्छ । त्यस्तोमा सुरक्षा निकायले नागरिक सरकारको  निर्देशन बिना आफैँ सक्रिय हुने अवस्था आउँछ ।

राजनीतिक शक्ति सन्तुलन र सत्ता संक्रमण विद्रोह प्रायः सत्ता संकटको बेला हुन्छ। यदि पुरानो सत्ता कमजोर भइसकेको छ भने सुरक्षा निकाय आफैँ तटस्थ रहन चाहन्छन्, किनकि कसले सत्तामा आउँछ भन्ने कुरा अनिश्चित हुन्छ । सेक्टेम्बर ९ मा भएकै त्यही  थियो। उनीहरू नयाँ शक्तिसँग दुश्मनी बनाउन नचाहेर निष्क्रिय देखिए भन्दा फरक पर्दैन ।

भित्री सहानुभूति (Silent Sympathy)

कतिपय अवस्थामा प्रहरी वा सैनिकहरू पनि जनताको मागप्रति सहानुभूतिशील हुन्छन्। त्यस्तो बेला उनीहरूले “कर्तव्य पालना गर्ने नाटक” मात्र गर्छन्, तर वास्तविक हस्तक्षेप गर्दैनन्। सेप्टेम्बर ९ गते सुरक्षा फौज निष्क्रिय देखिनुको कारणलाई “कमजोरी” मात्र भन्नु अपूर्ण हुन्छ। यो वास्तवमा तीन तहको कारण हो ।मनोवैज्ञानिक कारणमा त्रास, द्विविधा, सहानुभूति हाे भने राजनीतिमा आदेश नआउनु, सत्ता अनिश्चित हुनु मुख्य कारण हाे । रणनीतिक कारण हेर्ने हाे भने चाहिँ भिडन्त गर्दा अझ ठूलो रक्तपात हुने डर हुनु हाे ।  त्यसैले ९ गतेको निष्क्रियता राज्य संरचनाको भित्री संकटको प्रतिबिम्ब हो, जसमा सुरक्षा निकायले पनि “कसलाई सेवा गर्ने ? कसलाई रोक्ने ?” भन्ने अनिश्चितताका कारण सक्रिय हुन सकेन र  बेलगाम हजारौ‌ जनताले आफ्नो आक्रोशपूर्ण रुपमा पोखे।


Facebook Comments