आगजनीपछिको सिंहदरबारः प्रधानमन्त्री कार्यालयमा अझै बल्दैछ आगो, अन्य मन्त्रालयको कस्तो छ अवस्था ?


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राजधानीको प्रशासनिक केन्द्र सिंहदरबारमा तोडफोड र आगजनी भएको आज ७ औं दिन पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आगो बलिरहेकै छ । सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालय सबैभन्दा बढी निसानामा परेको देखिन्छ । उक्त कार्यालयको अगाडि पट्टिको भाग बाहिरबाट धेरै क्षति भएको नदेखिए पनि भवनभित्र र पछाडि पट्टिको भाग हेर्ने हो भने पूर्ण रुपमै क्षति भएको देखिन्छ । पछाडि पट्टि अहिले पनि आगो बलिरहेको र धुँवा आइरहेको छ । प्रधानमन्त्री बस्ने कार्यकक्ष पूर्ण रुपमा भत्किएको छ । प्रधानमन्त्रीको कार्यकक्षमा कुनै पनि सामाग्री सकुशल अवस्थामा छैनन् । बाहिर पार्किङमा राखिएका करिब १५ वटा गाडी समेत पूर्णरुपमा ध्वस्त भएका छन् भने प्रधामन्त्रीको कार्यालयको छेउमा रहेका २ वटा टहरा समेत जलेर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ । सिंहदरबारभित्रको क्षतिको विवरण आइसकेको छैन तर अन्य मन्त्रालय भन्दा प्रधानमन्त्रीको कार्यालय सबैभन्दा बढी क्षतिग्रस्त अवस्थामा छ । त्यसमा पनि सबैभन्दा बढी तहसनहर प्रधानमन्त्रीको कार्यकक्ष छ, जहाँ तोडफोड गरेर अगजनी गरेको देखिन्छ ।
प्रधानमन्त्रीको कार्यालय नजिकै रहेको गृहमन्त्रालय राख्न बनाइएको नयाँ भवनमा भने कुनै क्षति भएको छैन । अहिले गृहमन्त्रालयको उक्त भवनमा प्रधानमन्त्रीको कार्यालय सारिएको छ भने नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले सोही भवनबाट पदभार ग्रहण समेत गरेकी छिन् । नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष र अन्य विभागका लागि आवश्यक फर्निचर लगायतका सामाग्रीहरु राख्ने काम भइरहेको छ । आगजनी भएको प्रधानमन्त्रीको कार्यालयमा आगोबाट बचेका सामाग्रीहरुलाई पनि नयाँ भवनमा सार्ने काम भइरहको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै गृहमन्त्रालय पनि सबैभन्दा बढी ध्वस्त भएको छ । गृहमन्त्रालयका अधिकांश कोठा कामै नलाग्ने गरी ध्वस्त भएका छन् । यहाँ कुनै पनि सामाग्री सकुशल अवस्थामा छैनन् । प्रहरीलाई गोली चलाउन आदेश दिएकाे विषयमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सबैभन्दा बढी रुष्ट देखिएका प्रदर्शनकारीले गृहमन्त्रालय निसानामै राखेर तोडफोडपछि आगजनी गरेको देखिन्छ । यहाँ गृहमन्त्रीको कार्यकक्षसमेत पूर्ण रुपमा ध्वस्त भएको छ । बाहिर पार्किङमा राखिएका सबै सवारी साधन समेत जलेर नष्ट भएका छन् । गृहमन्त्रालयको प्राङ्गणमा रहेका रुद्राक्षका रूख समेत जलेका छन् । अहिले गृहमन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा सारिएको छ । नवनियुक्त गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले सोही भवनमा पदभार ग्रहण गरेका छन् ।
गृहमन्त्रालयकै अगाडि रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत आगजनीबाट केही क्षति भएको देखिन्छ । मन्त्रालयको भूमिगत पार्किङमा रहेका र मन्त्रालयको प्राङ्गणमा राखिएका सवारी साधन जलेर पूर्ण रुपमा नष्ट भएका छन् । उक्त मन्त्रालयमा अहिले सरसफाइ गर्ने काम भइरहेको छ भने सुचारू गर्न मिल्ने काम समेत सुरू गरिएको छ ।
त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयमा पनि आगजनीबाट आंशिक क्षति पुगेको छ । मन्त्रालयको एक छेउ आगोले क्षतिग्रस्त भएको छ । प्राङ्गणमा राखिएका सवारी साधनहरू जलेका छन् । भवनको क्षतिग्रस्त भागमा भएको विभागहरूलाई सकुशल अवस्थामा रहेको भागतर्फ सार्ने, सरसफाइ गर्ने काम भइरहेकाे छ । अहिले खातामा नाम टिपेर कर्मचारीको हाजिर गर्न सुरु गरिएको छ ।
यता उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको भवनमा भने केही तोडफोड भएको देखिन्छ तर आगजनी भएको छैन । बाहिर राखिएका सवारी साधनमा भने आगजनी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भवनमा खास्सै क्षति भएको छैन । यसको पनि भुइ तलाको झ्यालका सिसा फुटेका छन्, ढोका फोडिएका छन् र आगजनी नभएको कारण भवन जोगिन पुगेको देखिन्छ । तर बाहिर राखिएका सवारी साधनमा आगजनी गरिएका कारण सबै सवारीसाधन पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि आगजनीबाट बचेका छन् । कहिँकतै ढुंगाले हानेर तोडफोड भएको देखिए पनि यी मन्त्रालयमा ठूलो क्षति भएको छैन । यी सबै मन्त्रालयका पार्किङमा राखिएका गाडी भने जलेर ध्वस्त भएका छन् ।
सिंहदरबारभित्र रहेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, संघीय संसदको नयाँ भवन, रेडियो नेपाल, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भवन, कसुरजन्य विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, संघीय संसद सचिवालयको भवन, राष्ट्रिय योजना आयोग, प्रशासकीय अदालत र सिंहदरबारको सर्भिस सेन्टरमा समेत क्षति भएको छैन । यी कार्यालयको भवनमा क्षति नभए पनि पार्किङमा राखिएका सवारी साधन भने जलेर नष्ट भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय पनि तोडफोडबाट क्षतिग्रस्त बनेको छ ।
Facebook Comments