राष्ट्रिय टिमको प्रशिक्षण सञ्चालन


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण पुनः सञ्चालन भएको छ । यो आर्थिक वर्षको प्रशिक्षण भदौ १ गतेदेखि सुरु भइसकेको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार जेनजी आन्दोलनले उत्पन्न परिस्थितिका कारण केही दिन प्रशिक्षण हुन सकेको थिएन ।
“आन्दोलनको दोस्रो दिन भदौ २४ गते खेलाडीहरु बिहान प्रशिक्षणका लागि आएका थिए । आन्दोलनले गर्दा स्थिति असहज बन्दै गएपछि खेलाडी फर्किए”, श्रेष्ठले भने, “यसपछि भदौ २९ गते (आइतबार) देखि प्रशिक्षण सञ्चालन भएको हो ।”
विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), जुडो, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी नौ खेलका एक सय १० खेलाडी सहभागी छन् । त्यसमा ४४ पुरुष र ६६ महिला छन् । नौ खेलका लागि १८ प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।
जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित १९औँ एसियाली खेलकुद सम्पन्न भए लगतै जापान एसियाडका लागि विशेष प्रशिक्षण सुरु गरिएको थियो ।
कुनै पनि एसियाली खेलकुद सकिए लगतै आगामी संस्करणका लागि यति लामो तयारी प्रशिक्षण गरिएको पहिलोपटक हो । विशेष प्रशिक्षण विसं २०८० माघ १५ गतेदेखि सुरु भएको थियो । १९औँ संस्करणको एसियाली खेलकुद भने चीनको हाङझावमा भएको थियो ।
Facebook Comments