पाकिस्तानमा बम विस्फोट हुँदा ६ जनाको मृ*त्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान–अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो । विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो ।
चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी) का प्रमुख गफूर उर रहमानले शिन्ह्वालाई जानकारी दिँदै भने, ‘घाइतेको अवस्था अत्यन्तै गम्भीर छ ।’
विस्फोटको कारणबारे अहिलेसम्म यकिन विवरण प्राप्त नभए पनि सुरक्षा बलहरूले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान सुरु गरिसकेका छन् । हालसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।
यस घटनापछि मुलुकका शीर्ष नेताहरूले दुख प्रकट गरेका छन् । प्रधानमन्त्री शहबाज शरिफले विस्फोटको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शरिफले भने, ‘बलुचिस्तानलाई अस्थिर पार्ने प्रयासहरू कहिल्यै सफल हुन दिने छैनौं । दोषीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ ।’
Facebook Comments