युक्रेनको सीमामा पक्राउ परेका दुई नेपालीको उद्धार


काठमाडौं । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी आज अपराह्न नेपाल फर्काउने तयारी गरिएको छ ।
उनीहरूको उद्धारमा युक्रेनको सीमासुरक्षा सेवा कार्यालय र गैरआवासीय नेपाली सङ्घ जर्मनीले सहयोग गरेका थिए । मन्त्रालयले विदेश यात्रामा रहेका सबै नेपालीलाई सम्बन्धित मुलुकको कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
कानुनको उल्लङ्घन गर्दा पक्राउ परिने र ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै मन्त्रालयले यस्ता घटनामा उद्धार प्रक्रिया सहज नहुने बताएको छ । साथै, विभिन्न प्रकारका प्रलोभन र बहकाउबाट जोगिन पनि सचेत गराएको छ ।
Facebook Comments