युवाको चाहनाअनुसार काम गर्नुपर्छ : मुख्यमन्त्री आचार्य


लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले युवा पुस्ताको चाहनाअनुरूप सरकारका कामलाई थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै सबैको साझा लक्ष्य हुनुपर्ने र यही लक्ष्यले मुलुकलाई निकास दिने विश्वास व्यक्त गरे ।
उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताए । ‘संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने सङ्कल्प बोकेको छ,’ उनले भने ।
उनले प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आधार मानेर नीतिगत, संरचनात्मक र कानुनी सुधारका काम अघि बढाएको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
Facebook Comments